- देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने ।
- मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी ।
- ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई हस्तान्तरण ।
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेका बेला त्यसप्रति विमति जनाउँदै पूर्वसभापति शेरबहादुर देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ ।
असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रिया रोक्दै वार्ता र सहमतिका आधारमा संयुक्तरुपमा महाधिवेशन गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै देउवा पक्षले छुट्टै कार्यतालिकासहित महाधिवेशनको तयारी अघि बढाएको हो ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उक्त समूहले अहिले महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको छ ।
देउवा पक्षीय समूहका संयोजक डा. शशाङ्क कोइरालाले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार यही असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ । समूहले महाधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जनाएको छ ।
उता संस्थापन पक्षले असोज ३ गतेदेखि प्रतिनिधि छनोट प्रक्रिया अघि बढाइसकेको छ । नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
यसैबीच, देउवा पक्षद्वारा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई शनिबार क्रियाशील सदस्यताको विवरण हस्तान्तरण गर्नुभएको हो ।
संयोजक पौडेलका अनुसार असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको छ । कूल सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच लाख ७३ हजार ३६९ पुराना सदस्यताको नवीकरण गरिएको छ भने दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता थपिएको छ ।
“पहिला पार्टीले महामन्त्री गगन थापालाई यो जिम्मेवारी दिएकोमा समयमै क्रियाशील सदस्यता नटुङ्गिँदा समस्या आएको थियो, तर अहिले शेरबहादुर देउवाले मलाई जिम्मेवारी दिएपछि यसलाई समयमै टुङ्गो लगाएर हस्तान्तरण पनि गरिसकेको छु । अब समयमै महाधिवेशन हुन्छ, यसमा कुनै समस्या छैन”, संयोजक पौडेलले भन्नुभयो ।
यसैगरी, देउवा पक्षका नेता डा. महतले पार्टीभित्र एकताको महाधिवेशन गर्न आफूहरूले अन्तिमसम्म प्रयास गरे पनि सम्भव नभएपछि समानान्तर महाधिवेशनको तयारीमा लाग्नुपरेको बताउनुभयो ।
“हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ । यसका लागि अन्तिमसम्म प्रयास पनि गरेका हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ”, उहाँले भन्नुभयो । रासस
