RayNewsDaily
परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूहको’ बैठकमा सहभागी   

काठमाण्डू । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा आज न्युयोर्कस्थित टर्किस हाउसमा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘मध्यस्थता समूह’ को मन्त्रीस्तरीय प्रभातकालिन बैठकमा सहभागी हुनुभएको छ ।    
    
 बैठकमा सहभागी मन्त्रीहरूले द्वन्द्व रोकथाम, विवादको शान्तिपूर्ण समाधान तथा अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि मध्यस्थताको भूमिकाका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो । यो समूह सन् २०१० मा स्थापना भएको हो र यसको सहअध्यक्षता फिनल्यान्ड र टर्किले गर्दै आएका छन् ।    
    
बैठकमा परराष्ट्रमन्त्री खनालले नेपालले द्वन्द्वको शान्तिपूर्ण समाधान, संवाद र मध्यस्थतालाई महत्त्व दिँदै आएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले बदलिँदो विश्व परिवेशमा द्वन्द्वको रोकथाम तथा समाधानका लागि संवाद, विश्वास निर्माण र प्रभावकारी मध्यस्थताको आवश्यकता थप महत्त्वपूर्ण बन्दै गएको धारणा राख्नुभएको थियो । रासस   

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update