- प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान ।
- असोज ८ गते महासचिव गुटेरेससँग भेटवार्ता र महासभालाई सम्बोधन ।
- असोज १० गते स्वदेश फर्कने कार्यक्रम ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका वरिष्ठ अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुहुनेछ । उहाँ दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ ।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुहुनेछ ।
त्यसपछि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग पुग्नुहुनेछ । त्यहाँ परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले भ्रमणका विषयमा उहाँलाई ब्रिफिङ गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा उहाँ सहभागी हुनुहुने कार्यक्रम छ ।
असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।
असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ । उहाँलाई जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली अधिकारीहरूले बिदाइ गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ । रासस
