- वैदेशिक रोजगारीलाई मर्यादित र शोषणमुक्त बनाउन जोड ।
- सिन्डिकेट र विचौलिया प्रथा हटाउन संयुक्त पहलको प्रस्ताव ।
- मलेसियाली श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गर्न निर्देशन दिने प्रतिबद्धता ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।
वार्तामा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने बताउँदै यसको स्थायी समाधानका लागि दुवै देशबीच संयुक्त पहल आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
“हामीलाई सिन्डिकेट र विचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “त्यसैले दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु ।”
प्रधानमन्त्री शाहको धारणालाई सकारात्मक रूपमा लिनुहुँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट र विचौलिया प्रथाको विरुद्धमा रहेको बताउनुभएको थियो । उहाँले आफ्ना श्रममन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मलेसियाली प्रधानमन्त्री इब्राहिमले भन्नुभयो, “यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्णविरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु ।” रासस
