RayNewsDaily
प्रधानमन्त्री शाहको जेनजी सांसदलाई आग्रह : नवीन सोचसहित आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
  • आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह ।
  • स्थलगत अध्ययन, अनुसन्धान र सूचना-प्रविधिको उच्चतम प्रयोग गर्न सुझाव ।
  • राजनीतिलाई कमाउने माध्यम नबनाई छुट्टै व्यवसायबाट आत्मनिर्भर बन्न आग्रह ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्दै युवालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यसबाट अझ अगाडि बढेर आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन काम गर्न आग्रह गर्नुभयो ।

यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना-प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री शाहले राजनीतिलाई पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्नसमेत सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले दीर्घकालीन रूपमा आत्मनिर्भर र अरूका लागि प्रेरणाको स्रोत बन्न सांसदहरूलाई सुझाव दिनुभयो ।

“राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ । सांसदको भूमिका सकिएपछि तपाईंहरूलाई आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस्,” उहाँले भन्नुभयो ।

अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँहरूले जेनजी आन्दोलनका सहिद तथा घाइते, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधि र आफ्ना निर्वाचन क्षेत्र केन्द्रित विषय प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।

अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शङ्कर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update