- भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा कोरियाको सहयोग निरन्तर रहने ।
- माथिल्लो त्रिशूली-१ मा रहेका नौ कोरियाली नागरिक अझै सम्पर्कविहीन ।
- नेपाल-कोरिया डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकतामा सहकार्य गर्न सहमत ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे-ख्योङले आज उहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल-कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा सहयोगका साथै सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले भोटेकोशी बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गर्नुभयो । उद्धार तथा खोजीमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा उहाँले धन्यवाद दिँदै बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनःस्थापनामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गर्नुभयो ।
राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली-१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।
राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘१२औँ ग्लोबल आइसिटी लिडरसिप फोरम’मा नेपालसहित विभिन्न देशको सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो ।
दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य र आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ । रासस
