RayNewsDaily
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्छौँ : सभापति थापा
  • सबै तह र वर्गलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने सभापति थापाको प्रतिबद्धता ।
  • असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी ।
  • टाढिएका पुराना समर्थक र मतदातालाई पनि पार्टीमा जोड्न आग्रह ।

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह र वर्गका व्यक्ति तथा व्यक्तित्वलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भइसकेको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताउनुभयो ।

“अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ,” सभापति थापाले भन्नुभयो, “हामी सबै एक ठाउँमा उभिएका छौँ । सँगै बसेर अधिवेशन गर्न नसक्ने कुनै कुरा छैन ।”

उहाँले पार्टीलाई एक बनाउने कुरा नेताहरूबीचको एकतामा मात्र सीमित नराखी पार्टी छाडेर टाढिएका व्यक्तिलाई समेत जोड्नुपर्ने बताउनुभयो । उहाँले यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने जानकारी दिनुभयो ।

सभापति थापाले पार्टीको महाधिवेशन सम्पन्न गरेर जनतामाझ जाने उल्लेख गर्दै देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गर्नुभयो ।

“मतभिन्नता हुनु स्वाभाविक हो । त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “पार्टीभित्रको एकता केवल नेताहरूबीचको एकतामा सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ ।”

सभापति थापाले पार्टीका पूर्वसभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन आग्रह गर्नुभयो ।

वडा, जिल्ला तथा अन्य तहका अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई पनि अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उहाँले सहभागी हुन नसक्ने अवस्थामा विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।

महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी छोटो समयमै व्यवस्थित रूपमा काम गर्नुपर्नेमा पनि सभापति थापाले जोड दिनुभयो ।

नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएका थिए । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो । रासस

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update