RayNewsDaily
भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट, नेपाल-भारत सम्बन्धबारे परराष्ट्रमन्त्री खनालसँग छलफल
  • नेपाल-भारत सम्बन्ध थप प्रगाढ बनाउन राजदूत श्रीवास्तवको भूमिकाको प्रशंसा ।
  • ऊर्जा, व्यापार, पूर्वाधार र सम्पर्क सञ्जालमा भएको प्रगतिबारे चर्चा ।
  • भोटेकोशी बाढीपछि भारतको सहयोगप्रति परराष्ट्रमन्त्री खनालद्वारा आभार ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा राजदूत श्रीवास्तवलाई बधाई दिनुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले नेपाल-भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले नेपाल-भारतबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा सम्पर्क सञ्जालका क्षेत्रमा भएका महत्त्वपूर्ण प्रगति र दुई देशका जनताबीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।

यसैगरी, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालप्रति भारतले देखाएको ऐक्यबद्धता तथा खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update