- चलचित्र क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता ।
- ‘तिनीहरू’लाई अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व ।
- चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख बजेट ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अस्कर अवार्डको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’को टोलीसँग मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो ।
भेटमा चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत टोलीले चलचित्र क्षेत्रको विकास तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवर्द्धनका लागि सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेको थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकार नीतिगत रूपमा अघि बढिरहेको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न रु तीन करोड ५० लाख अनुदान विनियोजन गरेको छ । उक्त बजेट कार्यान्वयनका लागि मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुर्याएको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।
उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । संसद्मा विचाराधीन चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
चलचित्र क्षेत्रमा लामो समयदेखि अपेक्षा गरिएको नीतिगत तथा संरचनागत परिवर्तनलाई व्यवहारमै अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । चलचित्र क्षेत्रको विकासका लागि राज्यको सहयोगलाई नीतिगत, कानुनी तथा आर्थिक पक्षसँग जोडेर अघि बढाउने सरकारको तयारी रहेको उहाँको भनाइ थियो ।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेस्टिभलमा पुरस्कृत भएको थियो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त उक्त उपलब्धिलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले चलचित्रलाई रु दुई लाख ५० हजार सम्मान प्रदान गरेका थिए ।
निर्माता पौडेलका अनुसार अस्करको ९९औँ संस्करणका लागि छनोट भएसँगै चलचित्रले अन्तर्राष्ट्रियस्तरमा नेपालको चलचित्र उद्योग, कला, संस्कृति र मौलिक कथावस्तुको प्रतिनिधित्व गर्नेछ ।
यसैबीच, चलचित्रको बिहीबार विशेष प्रदर्शन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो । विशेष प्रदर्शनमार्फत चलचित्रको विषयवस्तु तथा यसले उठाएका राष्ट्रिय महत्त्वका पक्षबारे नीति निर्माता र सरोकारवालालाई जानकारी गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो । रासस
