- जलवायुजन्य विपद् जोखिम न्यूनीकरणमा विश्वव्यापी सहकार्यमा जोड ।
- नेपालमा अमेरिकी लगानी बढाउन प्रधानमन्त्री शाहको आग्रह ।
- भोटेकोशी बाढीपछि अमेरिकी सहयोगप्रति प्रधानमन्त्रीद्वारा आभार ।
रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
भेटमा प्रधानमन्त्री शाहले नेपालको पर्यटन सम्भावना र त्यसको विकासबाट पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे चर्चा गर्दै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएकामा दुःख व्यक्त गर्नुभएको थियो ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गर्नुभएको थियो । उहाँले राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभएको थियो ।
