- प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्न आग्रह ।
- बाढी प्रभावित क्षेत्रमा उच्चस्तरीय राजनीतिक र संसदीय संयन्त्र गठनको माग ।
- प्रधानमन्त्री शाह अमेरिका जानुअघि प्रश्नोत्तर गराउन सभामुखसँग आग्रह ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्न तथा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि उच्चस्तरीय राजनीतिक र संसदीय संयन्त्र गठन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी)सँग मंगलबार भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले उक्त विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।
नेता आङदेम्बेका अनुसार यसअघि तय भएर पनि हुन नसकेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई आग्रह गरिएको छ । यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग संसद्मा प्रश्नोत्तर कार्यक्रम तय भए पनि कोटेकोशी बाढीका कारण प्रभावित भएको थियो ।
नेता आङदेम्बेले प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुअघि नै प्रश्नोत्तर कार्यक्रम राख्न आग्रह गर्नुभएको बताउनुभयो । उहाँका अनुसार सभामुख अर्यालले त्यसप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावअनुसार बाढीपछिको अवस्थाको समग्र अगुवाइ गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा भएको सहमति कार्यान्वयन हुनुपर्नेमा पनि आङदेम्बेले जोड दिनुभयो ।
“विपत्तिका समयमा राज्य र सबै दल एक ठाउँमा छन् भन्ने सन्देश हामीले दिनुपर्छ । त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय संयन्त्र गठन गरेर उद्धार, राहत, पुनःनिर्माणका काममा सहजीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
विपक्षीका तर्फबाट सदन र सरकारको ध्यानाकर्षण गराउने काम निरन्तर गरिरहने भन्दै उहाँले सरकारले त्यसको सुनुवाइ गर्नुपर्ने बताउनुभयो । रासस
