RayNewsDaily
यूएन महासभामा नेपालको जलवायु संकट उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वसमुदायसँग सहकार्यको आह्वान गर्ने ।
  • यूएन महासभामा नेपालको जलवायु समस्या र क्षतिबारे विश्वको ध्यानाकर्षण गराउने ।
  • हिमालदेखि तराईसम्म जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको प्रधानमन्त्रीको भनाइ ।

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको उल्लेख छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेको समस्या, क्षति तथा समाधानका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा पारिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमाल फुट्ने, हिमनदीको बहाव बढ्ने, पानीका मुहान सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्या हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ । जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि तथा जैविक विविधतामा समेत असर पर्न थालेको उहाँले बताउनुभएको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता रहेको छ ।

हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले अपूरणीय जनधनसहित भौतिक सम्पत्तिमा क्षति पुर्‍याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा आयोजित सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update