RayNewsDaily
कांग्रेसलाई एकताबद्ध गर्दै नागरिकको विश्वास पुनःस्थापना गर्छौं : सभापति थापा

• कांग्रेसलाई एकताबद्ध बनाएर नागरिकसँगको विश्वास पुनःस्थापना गर्ने प्रतिबद्धता ।
• असोज ३ र ४ गते वडा तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने ।
• फाउण्डेशनले आगामी एक वर्षमा एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वास पुनःस्थापना गरिने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको बताउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वास पुनःस्थापना गरिने बताउनुभयो ।

सभापति थापाले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आगामी असोज ३ र ४ गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने बताउनुभयो । संविधान र पार्टीको विधानअनुसार निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुने उहाँको भनाइ थियो ।

महाधिवेशन र चाडपर्वपछि कांग्रेस ७७ वटै जिल्ला तथा गाउँगाउँ पुग्ने बताउँदै सभापति थापाले सबैलाई पार्टीको महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो । “पार्टी एकताबद्ध बनाउने ठाउँमा नरम हुने हो, पार्टीभित्रको फोहर सफा गर्ने कुरामा निर्मम हुने हो,” उहाँले भन्नुभयो ।

सभापति थापाले गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जीवनका लागि प्रेरणाको स्रोत र २०४६ सालपछिको राजनीतिक पुस्ताका लागि सधैँ मार्गदर्शक रहनुभएको बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने क्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले देखाउनुभएको उदारता र सहयोगको प्रशंसा गर्नुभयो ।

कांग्रेस नेत्री कोइरालाले पार्टी र युवा नेतृत्वप्रति देखाउनुभएको विश्वास तथा अभिभावकत्वका लागि धन्यवाद दिँदै सभापति थापाले बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको साङ्गठनिक सुदृढीकरणलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अपनाउनुभएको आर्थिक उदारीकरण र खुला बजार नीतिले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुगेको सभापति थापाले बताउनुभयो । “विसं २०४८ देखि २०५१ सालसम्मको गिरिजाबाबुको सरकार नेपालको आर्थिक विकासको ‘स्वर्ण युग’ हो, उक्त समयमा नेपालले जलविद्युत्, दूरसञ्चार, बैंकिङ, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा फड्को मारेको छ,” उहाँले भन्नुभयो ।

गिरिजाबाबुले लिनुभएको उदार अर्थतन्त्रको बाटोका कारण देश विकासको बाटोमा अगाडि बढेको भन्दै सभापति थापाले गिरिजाबाबुको ‘इकोनोमी पोलिसी’का बारेमा फाउण्डेशनले आगामी दिनमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनकी अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले १६ वर्षदेखि फाउण्डेशनको अध्यक्षका रूपमा सामाजिक क्षेत्रमा आफू क्रियाशील रहेको बताउनुभयो । संस्थालाई अगाडि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उहाँले फाउण्डेशनको अध्यक्षको जिम्मेवारी पूर्वसांसद एवं समाजसेवी डा. सुनिल शर्मालाई हस्तान्तरण गर्नुभयो ।

नेत्री कोइरालाले गिरिजाप्रसाद कोइरालालाई कृष्ण सेनमार्फत तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटाउन डा. शर्माले खेल्नुभएको भूमिका स्मरण गर्नुभयो । फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नेत्री कोइरालाले जनआन्दोलनका समयमा वर्तमान कांग्रेस सभापति गगनकुमार थापाले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

फाउण्डेशनका नवनियुक्त अध्यक्ष डा. शर्माले फाउण्डेशनलाई थप उचाइमा पुर्‍याउन सक्रिय भएर लाग्ने बताउनुभयो । गिरिजाबाबुका कारण निजी क्षेत्रले मेडिकल कलेज खोल्न पाउने व्यवस्थाको सुरुआत भएको उहाँले स्मरण गर्नुभयो ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आगामी एक वर्षमा आर्थिक अभाव भएका एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा. शर्माले घोषणा गर्नुभयो ।

फाउण्डेशनका सदस्य अजयकुमार राईले सन् २०११ मा स्थापना भएको फाउण्डेशनले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो । फाउण्डेशनको अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकमा बृहत् शान्ति सम्झौता कायम गर्न गिरिजाबाबुले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र फाउण्डेशनका रिसर्च डाइरेक्टर डा. तारा बन्जाडेलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update