- सुरक्षित मातृत्वको सम्पूर्ण सेवा निःशुल्क गर्न माग ।
- ‘नो डिनायल इन लेवर’ नीति लागू गर्न जोड ।
- भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा ध्यानाकर्षण ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने सेवामा मात्र सीमित नगरी सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आएकी गर्भवती बबिताकुमारी पासवानलाई अस्पतालले बेवास्ता गरेपछि सडकमै बच्चा जन्माउनुपरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले प्रसव पीडामा अस्पताल आएकी महिलालाई तत्काल भर्ना गर्नुपर्ने बताउँदै यस्तो घटना दोहोरिन नदिन र बबितामाथि भएको अमानवीय व्यवहारबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।
सांसद कार्कीले अस्पतालमा ‘नो डिनायल इन लेवर’ नीति तत्काल लागू गर्नुपर्ने बताउनुभयो । उहाँले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको ‘फ्रि डेलिभरी’ सेवा बच्चा जन्माउने काममा मात्र सीमित नगरी गर्भवती भएदेखि बच्चा जन्माउनेसम्मको सम्पूर्ण प्रक्रियालाई निःशुल्क बनाउनुपर्ने बताउनुभयो ।
आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क सेवा प्रदान गर्ने विषयलाई राज्यले विशेष दायित्वका साथ कार्यान्वयन गर्नुपर्ने सांसदहरुले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो ।
यसैगरी, आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रेनुका काउचा र जयपति रोकायाले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, पुनःस्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाका सांसद राजन गौतमले विपद् जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नवलपुरको हुप्सेकोट गाउँपालिका-५ स्थित धौवादी फलाम खानी क्षेत्रमा धुवाँ निस्किरहेको भन्दै सम्भावित जोखिमप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस
