- राष्ट्रसङ्घको ८१औँ महासभा न्युयोर्कमा सुरु
- विश्वशान्ति, सुरक्षा र जलवायु परिवर्तनमा छलफल हुने
- नेपालले कम विकसित देशको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता माग्यो
न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबार यहाँ सुरु भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा सुरु भएको महासभा आगामी २९ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारासहित सुरु भएको महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभयो ।
अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनलगायत जल्दाबल्दा विषयमा प्रभावकारी छलफल गरी विश्वव्यापी समस्या समाधान गर्न महासभा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार तथा मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग तथा बहुपक्षीय हितका लागि राष्ट्रसङ्घको पुनर्संरचनालगायत विषयमा पनि महत्त्वपूर्ण छलफल हुने बताउनुभयो ।
महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गरिरहेको अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रममार्फत त्यसको सम्बोधन गर्न राष्ट्रसङ्घको ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमका कारण विश्व प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्न महासभा उपयुक्त मञ्च भएको बताउनुभयो ।
महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गर्दै ८१औँ महासभाबाट रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको जनाएको छ । नियोगले संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका क्षेत्रमा काम गर्न नेपाल इच्छुक रहेको जनाएको छ ।
नियोगले राष्ट्रसङ्घीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गर्नुभएका बङ्गलादेशी कूटनीतिज्ञ रहमानलाई बधाईसमेत ज्ञापन गरेको छ ।
यसैबीच, मङ्गलबार नेपालका तर्फबाट राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गर्नुभएको छ ।
कम विकसित देशहरूको समूहगत अध्यक्षका हैसियतले थापाले अफ्रिकी मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकलाई सम्बोधन गर्दै उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनसँग जुध्ने क्षमता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा तथा दिगो विकासका लागि वित्तीय स्रोत जुटाउन र प्रतिबद्धताअनुसार काम गर्न अपिल गर्नुभयो । रासस
