RayNewsDaily
भोटेकोशी विपद्मा जिम्मेवार पत्रकारिता गर्न सञ्चारमन्त्रीको आग्रह
  • जिम्मेवार पत्रकारिता गर्न सञ्चारमन्त्रीको आग्रह ।
  • पीडितको गोपनीयता र मर्यादा जोगाउन अपील ।
  • विपद्लाई सनसनीको विषय नबनाउन आग्रह ।

रे समाचार/काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको गोपनीयता, सुरक्षा र मर्यादाको सम्मान गर्दै जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज अपील जारी गर्दै मन्त्री तिमिल्सिनाले नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी, बालबालिका, परिवार गुमाएका तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिक आश्रय लिइरहेकाले उनीहरूको मानसिक संवेदनशीलताको सम्मान गर्न आग्रह गर्नुभएको हो ।

उहाँले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि पीडितको गोपनीयता, सुरक्षा र मर्यादाको सम्मान गर्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न तथा बालबालिका र अन्य संवेदनशील व्यक्तिको पहिचान खुल्ने तस्वीर वा विवरण उनीहरूको सहमतिबिना नलिन र सार्वजनिक नगर्न उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी रिपोर्टिङ गर्न आग्रह गर्दै मन्त्री तिमिल्सिनाले विपद्मा पीडितको दुःख समाचारको विषय भए पनि सनसनीको सामग्री बन्न नहुने बताउनुभएको छ ।

“तथ्य र सत्यको खोजी गरौँ तर मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको मूल्यको पनि ख्याल गरौँ”, उहाँले अपीलमा भन्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update