RayNewsDaily
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता
  • शाह र अल्बानिजबीच टेलिफोन वार्ता ।
  • अष्ट्रेलियाको सहयोगप्रति शाहको आभार ।
  • बेपत्ता अष्ट्रेलियालीको खोजी तीव्र ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ । आज बिहान भएको वार्तामा नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले विपद्का बेला उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहित ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले बाढीमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिरहेको जानकारी दिनुभयो । नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले विपद्को यस घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो ।

वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update