- भोटेकोशी बाढीसम्बन्धी विशेष प्रस्ताव पारित ।
- उद्धार र पुनःस्थापनामा जोड ।
- विपद् पूर्वतयारी बलियो बनाउन आग्रह ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै सभामुख अर्यालले विपद्मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा सम्बन्धित राष्ट्रप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।
सभामुख अर्यालले विपद्बाट प्रभावित नागरिकको आर्थिक तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको र त्यसबाट नेपालका हिमनदी तथा हिमतालमा परिवर्तन भइरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौतीबारे अन्तर्राष्ट्रियस्तरमा नेपालको मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय बहसमा नेपालले अझ स्पष्ट र बलियो रूपमा आफ्नो आवाज उठाउनुपर्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“रसुवा विपद्ले हामीलाई महत्त्वपूर्ण पाठ सिकाएको छ । विपद्पछिको व्यवस्थापनमात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ । हिमताल र हिमनदीको नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्दछ”, उहाँले भन्नुभयो ।
सभामुख अर्यालले तीनै तहका सरकार, सबै राजनीतिक दल, नागरिक समाज, सरकारी संयन्त्र तथा स्रोत परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन र विस्थापित नागरिकको पुनःस्थापना गर्न आग्रह गर्नुभयो ।
भोटेकोशी बाढीमा परी दिवङ्गत नागरिकको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते दिउँसो १ बजे बस्नेछ । रासस
