- विपद्मा जनपरिचालन गर्न प्रचण्डको जोड ।
- खोजी, उद्धार र राहतमा गम्भीर बन्न आग्रह ।
- जलवायु न्यायको मुद्दा सशक्त बनाउनुपर्ने ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले सङ्कटको समयमा सरकार जनताको साथमा हुनुपर्ने बताउनुभयो ।
“भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ”, संयोजक प्रचण्डले भन्नुभयो, “सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन पनि गर्नुपर्छ ।”
उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै जनप्रतिनिधिलाई विपद्को अवस्थामा थप क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
विसं २०७२ को भूकम्पलगायत राष्ट्रिय सङ्कटको समयमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक प्रचण्डले बाढीपछिको खोजी, उद्धार र राहत वितरणमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो ।
“बाढीपछिको उद्धारमा कमीकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ । राहत, तत्काल पुनःस्थापना र दीर्घकालीन पुनःनिर्माणमा सरकार गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ । यसतर्फ सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।”
संयोजक प्रचण्डले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । रासस
