- भोटेकोशी विपत्तिमा राष्ट्रियसभाको विशेष प्रस्ताव सर्वसम्मतिले पारित ।
- उद्धार, राहत, पुनःस्थापना र सम्पर्कविहीनको खोजीमा जोड ।
- पुनःनिर्माण र विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी उपाय अपनाउन आग्रह ।
रे समाचार/काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रस्तावमार्फत बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना, सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार र वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।
भौतिक संरचनाको पुनःनिर्माणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न प्रस्तावमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नसमेत सरकारलाई आग्रह गरिएको छ ।
