काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको छ ।
यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पा तथा सदस्यमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ ।
बौद्धनाथ क्षेत्र विकास समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले विसं २०५३ मा गठन गरेको हो ।
बौद्धनाथ सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहर हो । विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको बौद्धनाथ महाचैत्य काठमाडौँमा पर्यटकले बढी अवलोकन गर्ने प्रमुख स्थलमध्ये एक हो ।
समितिको काम, कर्तव्य र अधिकारअन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने तथा विदेशी सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्था वा व्यक्तिसँग सम्पर्क र समन्वय गर्ने रहेका छन् ।
गठन आदेशबमोजिम समितिले बौद्धनाथ महाचैत्य र यसको परिसर, शान्ति वाटिका, बुद्ध धर्म, पर्यटक तथा धर्मावलम्बीसम्बन्धी प्रगति, उन्नति तथा प्रचारप्रसारका काम गर्दै आएको छ ।
नेपालका प्रमुख बौद्ध तीर्थस्थलमध्ये बौद्धनाथ एक हो । तिब्बतलगायत विश्वभर प्रसिद्ध यो तीर्थस्थल पहिले खास्ती चैत्यका नामले चिनिन्थ्यो । अहिले यसलाई बौद्धनाथ, बौद्ध स्तूप र खास्ती चैत्य नामले समेत चिनिन्छ ।
बौद्ध तथा हिन्दू तीर्थयात्रीका लागि महत्वपूर्ण मानिने बौद्धनाथ स्तूप काठमाडौँमा अवस्थित छ । तिब्बती तीर्थयात्री तथा बौद्ध धर्मावलम्बीले माने घुमाउँदै मन्त्र जप गर्दै स्तूपको परिक्रमा गर्ने गर्छन् ।
बौद्ध धार्मिक आस्था भएका नेपाली तथा विश्वभरका पर्यटकका लागि समेत बौद्धनाथ महत्वपूर्ण केन्द्र हो । काठमाडौँ उपत्यकाका ठूला स्तूपमध्ये बौद्धनाथ र स्वयम्भू प्रमुख हुन् ।
समिति गठन भएपछि बौद्धनाथ स्तूप तथा यसको परिसरको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यहाँको मूर्त सम्पदासँगै अमूर्त सम्पदाको महत्व पनि उत्तिकै रहेको छ । रासस
