RayNewsDaily
आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन्छौँ, उद्धारमा कमी हुन्न : परराष्ट्रमन्त्री खनाल
  • राष्ट्रिय क्षमतामै उद्धारलाई प्राथमिकता दिइएको मन्त्री खनालको भनाइ 
  • आवश्यक परे अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिने सरकारको नीति 
  • सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा सक्रिय 

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि जारी खोज तथा उद्धारमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा सरकारले राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको भौगोलिक अवस्थाका आधारमा उद्धार रणनीति तय गरिएको जनाएको छ ।

रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार नगरेको बताउनुभयो । उहाँका अनुसार सुरुआती चरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीको अधिकतम परिचालनलाई प्राथमिकता दिइएको हो ।

नेपालको विकट भूगोल र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सुरक्षा निकायका टोली परिचित रहेको उल्लेख गर्दै मन्त्री खनालले अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने बताउनुभयो ।

“हाम्रो टिम सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ  । हाम्रो सुरक्षा निकायहरू-सेना, प्रहरी र सशस्त्र प्रहरी सबै यसमा लागिरहेका छन्,” उहाँले भन्नुभयो ।

मन्त्री खनालले राष्ट्रिय संयन्त्र र संस्थाले आफैँ गर्न सक्ने काममा आफ्नै क्षमतामै अघि बढ्नु सरकारको नीति रहेको बताउनुभयो । विपद् हुनेबित्तिकै हरेक मुलुकले विदेशी सहयोग लिनुपर्ने अवस्था नहुने उहाँको भनाइ छ ।

यद्यपि, सुरुङभित्र उद्धार गर्नुपर्ने वा अत्यन्त जटिल भौतिक संरचनामा विशेष प्राविधिक क्षमता आवश्यक पर्ने अवस्था आएमा सरकारले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो । 

“जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ, त्यहाँ आवश्यकताअनुसार सहकार्य गर्छौं,” मन्त्री खनालले भन्नुभयो। उहाँका अनुसार यस विषयमा मित्रराष्ट्रहरूसँग सरकार निरन्तर संवाद र समन्वयमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update