काठमाण्डू । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी–उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले १० बुँदे सङ्कल्प गरेको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतीकरण, आर्थिक सङ्कलनमा सरकारी एकद्धार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमापार संयुक्त पहल, विपद् पूर्वसूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको रास्वपाको बताउनुभयो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले उदारका लागि २२ वटा हेलिकप्टरहरू परिचालन गरिएको, हालसम्म १६५ भन्दा बढी शव प्राप्त भएको , करिब नौ सय मानिस बेपत्ता रहेको प्रारम्भिक रिपोर्ट भएको र यो संख्या बढ्न सक्ने जानकारी गराउनुभएको थियो ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुनर्निर्माण, राहत र विपद् व्यवस्थापनका लागि रु. १० अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद् उद्धार कोषमा करिब २ अर्ब रुपैयाँ र गृह मन्त्रालयलाई करिब १ अर्ब रुपैयाँ उपलब्ध गराइएको जानकारी दिनुभयो
सभापति लामिछानेले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत प्राप्त भइरहेको र संवेदनशील रुपमा शव हस्तान्तरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
सभापति लामिछानेले थप मानवीय क्षति हुन नदिन सरकारले आधिकारिक सूचना जारी नगरेसम्म सबै जनतालाई सुरक्षित रहन आग्रह गर्दै पीडितका शवको दुरुपयोग रोक्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा गृह मन्त्री सुधन गुरुङ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो । रेडियो नेपाल
