- महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको पूरक निवेदन ।
- रिटको सुनुवाइ ११ गतेका लागि तोकियो ।
- कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकसम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन ।
रे समाचार/काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका छन् ।
देउवाका वारेस कांग्रेस नेता दीपक खड्का र खड्काका वारेस अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा पूरक निवेदन पेस गर्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले निवेदन दर्ता भएको जानकारी दिनुभएको छ ।
दुवै निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।
यससम्बन्धी रिटको सुनुवाइ आगामी ११ गतेका लागि तोकिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दाको सुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिएको छ । सर्वोच्चले यस्तो अनुमति दिएपछि पनि एकलौटी रूपमा महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै इतर समूहले सोमबार प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेको हो ।
