RayNewsDaily
प्रधानमन्त्री शाहले भोलि सांसदहरुको प्रश्नको जवाफ दिनुहुने, ११ जना सांसदद्वारा प्रश्न दर्ता
फाइल फोटो ।
  • भदौ १० गते प्रधानमन्त्री शाहले संसद्मा जवाफ दिने ।
  • रास्वपाबाट तीन सांसदले मात्र प्रश्न दर्ता गराए ।
  • प्रश्नोत्तरका लागि १५ वटासम्म प्रश्नको कोटा ।

रे समाचार/काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते हुने प्रश्नोत्तरका लागि ११ सांसदले प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले आफ्नो कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन् ।

रास्वपाका सांसदले सातवटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीनवटा मात्र दर्ता गरेका छन् । अन्य दलबाट भने तोकिएको कोटाअनुसार प्रश्न दर्ता भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले भदौ १० गतेको प्रश्नोत्तरका लागि भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो । संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ, नेकपा (एमाले) बाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनुभएको छ । श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गराउनुभएको छ ।

सभामुखको रुलिङअनुसार सबै दलबाट एक-एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो । त्यसअनुसार छ दलबाट छवटा प्रश्न र बाँकी नौवटा प्रश्न प्रतिनिधि सभामा रहेको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो ।

सचिवालयले दलीय कोटासहित रास्वपाबाट सात तथा कांग्रेस, एमाले र नेकपाबाट दुई-दुईवटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो । श्रम संस्कृति पार्टी र राप्रपाले एक-एकवटा प्रश्न दर्ता गर्न पाउने व्यवस्था गरिएको थियो ।

यसअघिका प्रश्नोत्तरमा १५ प्रश्न तोकिए पनि मागभन्दा बढी प्रश्न दर्ता हुने अभ्यास रहेको छ । पहिलो पटक २०७५ माघ ४ गते भएको प्रश्नोत्तरमा दर्ता भएका १८ वटै प्रश्नको जवाफ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update