RayNewsDaily
पशुपतिनाथमा अन्तिम सोमबार ३२५ जनाले गरे विशेष पूजा
  • पशुपतिनाथमा ३२५ भक्तजनले गरे विशेष पूजा ।
  • बोलबम यात्री बिहान २ बजेदेखि लाममा ।
  • अन्तिम सोमबार पशुपतिमा भक्तजनको भीड। 

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार श्रावण महिनाको अन्तिम सोमबार आज ३२५ जना भक्तजनले विशेष पूजा गरेका छन् । भक्तजनले कोषले तोकेको दक्षिणाको रसिद काटेर विशेष पूजा गरेका हुन् ।

गत सोमबार करिब ३०० जनाले विशेष पूजा गरेका थिए । बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना तथा दर्शनका लागि भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो ।

चान्द्रमासअनुसार श्रावणको चौथो तथा अन्तिम सोमबार भएकाले पशुपतिनाथमा पूजा, आराधना र दर्शन गर्ने भक्तजनको लाम लागेको छ । बोलबम यात्री बिहान २ बजेदेखि नै लाममा बसेका थिए ।

आज पशुपतिनाथका चार ढोका बिहान ४ बजेदेखि खोलिएका थिए । सौरमासअनुसार साउनका चार सोमबार बिहान ३ बजेदेखि नै चार ढोका खुला गरिए पनि चान्द्रमासअनुसारको सोमबारका लागि के गर्ने भन्ने निर्णय नभएकाले आज ढोका एक घण्टा ढिला खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताउनुभयो ।

सौरमासअनुसार साउनका सोमबारमा जस्तै आज पनि पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको कोषले जनाएको छ । चाडपर्व चान्द्रमासअनुसार मनाइने भएकाले चान्द्रमासअनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति बढेको हो । रासस

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update