- रणनीति बिर्सेर सत्ता समीकरणमा लाग्नु गम्भीर भूल भएको प्रचण्डको स्वीकारोक्ति ।
- कार्यनीतिमा अल्झिँदा जनतासँगको सम्बन्ध कमजोर भएको भनाइ ।
- विपक्षीहरू कम्युनिस्टलाई सखाप पार्ने रणनीतिमा केन्द्रित भएको प्रचण्डको दाबी ।
रे समाचार/काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा पार्टी असफल भएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा केन्द्रित हुनु गम्भीर भूल भएको बताउनुभयो ।
‘हामी बढी कार्यनीतिमा अल्झियौँ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो’, उहाँले भन्नुभयो । जनयुद्धका क्रममा सामन्तवादलाई परास्त गर्ने रणनीति बनाएर त्यसअनुसार कार्यनीति तय गर्दा सफलता हासिल भएको उहाँले स्मरण गर्नुभयो ।
अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा पार्टी चक्करमा फसेको उहाँको भनाइ थियो ।
‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो’, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो पक्ष कार्यनीतिमा अल्झिँदा विपक्षीहरू भने रणनीतिमा केन्द्रित भएको दाबी गर्नुभयो । उनीहरूले नेपालबाट कम्युनिस्टलाई सखाप पार्ने विषयमा ध्यान केन्द्रित गरेको प्रचण्डको भनाइ थियो ।
