- मुख्यमन्त्री खगराज भट्टले विधिपूर्वक पूजाअर्चना गरी पेटारो बडिमालिकातर्फ पठाउनुभयो ।
- पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजासामग्री समावेश ।
- भदौ ११ गते बडिमालिकामा मुख्य पूजा तथा मेला हुँदै ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा भदौ ११ गते हुने भगवती माताको मुख्य पूजाका लागि ‘पेटारो’ पठाउनुभएको छ । पेटारोमा पूजासामग्रीसहितको बाकस हुन्छ ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकारवाला व्यक्तिको उपस्थिति थियो ।
बडिमालिकामा पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा पहिलेदेखि चलिआएको छ । पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजासामग्री राखिन्छ । सरकारी पूजा टोली पैदलयात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा छ ।

बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने गरिन्छ । यस वर्ष भदौ ११ गते बडिमालिकामा मुख्य पूजा तथा मेला हुँदैछ । दर्शनार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला सुरु भइसकेको छ ।
पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्थासँगै सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई जीवन्त राख्दै आएको मुख्यमन्त्री भट्टले बताउनुभयो । राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यस परम्पराको संरक्षण र प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । रासस
