- रास्वपामा नौ नयाँ केन्द्रीय सदस्य मनोनित ।
- जगदीश खरेल प्रवक्ता, पुरुषोत्तम यादव सहमहामन्त्री ।
- स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिने निर्णय ।
रे समाचार/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नौ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गर्दै विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी तोकेको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले जगदीश खरेललाई प्रवक्ता तथा पुरुषोत्तम सुप्रभात यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिएको छ ।
बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डा. नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।
पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल, लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई मनोनयन गरिएको छ ।
विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ । प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ ।
बैठकले आगामी स्थानीय निर्वाचनका लागि महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ । उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत गरिएको छ ।
‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी सहमहामन्त्री निशा डाँगीलाई दिइएको छ ।
रास्वपाले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको महामन्त्री आचार्यले जानकारी दिनुभयो ।
मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्य रहनेछन् ।
