- नागरिकलाई तत्काल अनुभूति हुने ६५ कार्यक्रम कार्यान्वयनको तयारी ।
- मन्त्री तथा मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता ।
- सरकारी कार्यालयमा स्वदेशी वस्तु प्रयोग गर्न परिपत्र ।
रे समाचार/काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका मुख्य काम तथा उपलब्धि सार्वजनिक गरेको छ । नियमित साप्ताहिक ‘मिडिया ब्रिफिङ’मा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले विभिन्न निर्णय, कार्यसम्पादन सम्झौता, अनुगमन तथा अध्ययनसम्बन्धी प्रगति सार्वजनिक गर्नुभएको हो ।
सरकारले यस अवधिमा सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मतसम्भारका लागि सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गरेको छ । केन्द्रलाई नीतिगत मार्गदर्शन तथा सुपरीवेक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरिएको छ ।
यस अवधिमा नीति अनुसन्धान प्रतिष्ठानले तयार पारेका आठ वटा प्रतिवेदनलाई आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाइएको छ । प्रतिवेदनमा विद्यालय शिक्षाको गुणस्तर, लैङ्गिक सवाल तथा घरेलु हिंसा, पिछडिएको वर्गको पहिचान, राष्ट्रिय आवास नीति, सामाजिक सुरक्षा, वैदेशिक लगानी तथा फर्केका आप्रवासीको पुनःएकीकरणलगायत विषय समेटिएका छन् ।
प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मन्त्रालयबाट नागरिकले तत्काल अनुभूति गर्ने ६५ वटा कार्यक्रम सञ्चालन गर्न सबै मन्त्रालयलाई अवधारणापत्रको मस्यौदा उपलब्ध गराइएको छ । सम्बन्धित मन्त्रालयले आवश्यक परिमार्जन गरी ती कार्यक्रम कार्यान्वयन गर्नेछन् ।
पछिल्लो एक सातामा प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्री तथा मुख्यसचिवले चालु आर्थिक वर्षका कार्यसम्पादन सूचक, मुख्य क्रियाकलाप र अनुगमन विधिसहित कार्यसम्पादन सम्झौता गरेका छन् । सम्झौताको नियमित अनुगमन तथा वार्षिक कार्ययोजनाको मासिक र वार्षिक प्रतिवेदनका आधारमा समीक्षा गरिने कार्यालयले जनाएको छ ।
गत साता प्रधानमन्त्री शाहले भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । यसै अवधिमा मलसम्बन्धी समस्या पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन समाधान सिफारिस गर्न सहसचिवको संयोजकत्वमा १२ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ ।
सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउनसमेत परिपत्र जारी गरिएको छ । कार्यालय प्रयोजन, बैठक, समारोह, कोसेली, उपहार तथा सजावटलगायतमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु प्रयोग गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकाका २९ वटा निकायको अनुगमन गर्दा २५७ जना कर्मचारीले समय पालना नगरेको र ४५ जनाले तोकिएको पोशाक नलगाएको पाइएको जनाएको छ । सम्बन्धित निकायलाई आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य बीमा तथा निःशुल्क औषधिको खरिद र वितरणमा पारदर्शिताबारे स्थलगत अनुगमन भइरहेको छ । विभिन्न सरकारी कार्यालयमा गरिएको अनुगमनमा १०० भन्दा बढी कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएपछि कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
