RayNewsDaily
सार्वजनिक सेवा डिजिटल बनाउन सरकारको नयाँ कदम, सफ्टवेयर सञ्चालन केन्द्र गठन
  • सफ्टवेयर विकास तथा सञ्चालनका लागि ६ सदस्यीय समिति 
  • केन्द्रमा कार्यकारी निर्देशकसहित ३० कर्मचारी रहने 
  • सार्वजनिक निकायलाई २४सै घण्टा प्राविधिक सहायता उपलब्ध गराइने 

रे समाचार/काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति र मर्मतसम्भार गर्दै सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को भदौ ३ गतेको बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गरेको हो ।

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रलाई नीतिगत मार्गदर्शन तथा सुपरीवेक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन र समन्वय गर्नुका साथै सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कामको सुपरीवेक्षण गर्नेछ ।

केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ । केन्द्रमा विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीसहित ३० जना कर्मचारी रहनेछन् । केन्द्रको मुख्य कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ ।

केन्द्रले सार्वजनिक निकायको मागअनुसार सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भार गर्नेछ । केन्द्रले आफैँ निर्माण गरेका सफ्टवेयर प्रणाली तथा सार्वजनिक निकायबाट माग भएका पुराना सफ्टवेयर प्रणालीको स्तरोन्नति र मर्मतसम्भारसमेत गर्नेछ ।

त्यसैगरी केन्द्रबाट विकास गरिएका सफ्टवेयर प्रणालीका लागि २४सै घण्टा प्राविधिक सहायता उपलब्ध गराइनेछ । सूचना प्रविधि प्रणालीका लागि सफ्टवेयर रिक्वायरमेन्ट स्पेसिफिकेसन (एसआरएस) तथा डिजिटल पूर्वाधारको प्राविधिक स्पेसिफिकेसन तयार गर्नसमेत सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

केन्द्रले सफ्टवेयर विकासका क्रममा आवश्यक सुरक्षा मापदण्ड, अटो स्केलिङ, उच्च उपलब्धता तथा स्वीकृत डेभलपमेन्ट आर्किटेक्चर र मापदण्ड प्रयोग गर्नेछ । अन्तरराष्ट्रिय मापदण्ड तथा असल अभ्यासको अनुसरण गर्दै आफूले विकास गरेका प्रणालीको सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी तालिमसमेत सञ्चालन गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update