- प्रदेश प्रमुख देवकोटाद्वारा शपथ ।
- एमाले, नेकपा र राप्रपाको समर्थन ।
- ६३ सांसदको समर्थनमा मुख्यमन्त्री ।
रे समाचार/हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री थापालाई शपथ गराउनुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका थापालाई एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन रहेको छ ।
मुख्यमन्त्री थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
किरण थापा मगर नेकपा (एमाले) का नेता तथा बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँ २०७४ सालमा सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष र २०७९ सालमा भक्तपुर-२(क) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । यसअघि उहाँले बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
