RayNewsDaily
दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधि बढाउने तयारी
  • वन व्यवस्थापनमा ड्रोन र एआई प्रयोग ।
  • डढेलो पूर्वसूचना प्रणाली बनाउने तयारी ।
  • स्वदेशी काठ उत्पादन बढाउने योजना ।

काठमाडौँ । दिगो वन व्यवस्थापन र वन डढेलो नियन्त्रणमा आधुनिक प्रविधिको प्रयोग बढाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच छलफल भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको उपस्थितिमा भएको छलफलमा नेपालको वनलाई संरक्षणमुखी मात्र नभई दिगो र आर्थिक रूपमा उत्पादनशील बनाउने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालका अनुसार स्वदेशी काठको उत्पादन बढाई विदेशी काठको आयात घटाउने तथा वन क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गर्ने विषयमा छलफल भएको छ ।

दिगो वन व्यवस्थापनका लागि ‘रिभोल्भिङ फन्ड’ स्थापना तथा निजी क्षेत्र र सार्वजनिक-निजी-समुदाय साझेदारीलाई प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ । वन व्यवस्थापन, काठ सङ्कलन तथा अनुगमनमा ड्रोन, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल ट्र्याकिङलगायत प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकता दिइएको छ ।

वन डढेलो नियन्त्रणका लागि एआई र स्याटेलाइट प्रविधिमा आधारित एकीकृत राष्ट्रिय डढेलो पूर्वसूचना प्रणाली तथा जोखिम नक्साङ्कन विकास गर्ने विषयमा पनि छलफल भएको छ । डढेलो लागेपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पूर्वतयारी र रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको मन्त्रालयले जनाएको छ ।

डढेलो नियन्त्रणमा समुदाय र वन कर्मचारीको क्षमता अभिवृद्धि गर्दै आवश्यक सुरक्षा उपकरण, सञ्चार प्रविधि र सवारीसाधनको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update