RayNewsDaily
धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानवअधिकार आयोगको आग्रह
  • धर्नामा रहेकाको स्वास्थ्य, बसोबास र सुरक्षाको व्यवस्था गर्न सरकारलाई आग्रह ।
  • महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने आयोगको चिन्ता ।
  • वार्ता र संवादमार्फत समस्या समाधान गर्न दुवै पक्षलाई आयोगको आग्रह ।

रे समाचार/काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुम्बासीको स्वास्थ्योपचार, बसोबास र सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय अगाडि विभिन्न माग राखेर धर्ना बसेकाको माग तत्काल सम्बोधन गर्न पनि आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा धर्नामा रहेका महिला, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने उल्लेख छ ।

आयोगले धर्नामा बसेकाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ । उनीहरूको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भएकाले उचित स्थानमा स्थानान्तरण गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका तर्फबाट वार्ता टोली गठन भएकामा आयोगले सकारात्मक रूपमा लिएको जनाएको छ । आयोगले वार्तालाई निरन्तरता दिई संवादबाटै समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update