RayNewsDaily
बिजुलीको महसुल घटाउने सरकारको तयारी
  • वर्षायाममा बिजुली सस्तो बनाउने तयारी ।
  • उद्योग र उपभोक्तालाई सहुलियत ।
  • महसुल पुनरावलोकन गर्न आज बैठक ।

काठमाडौँ । सरकारले वर्षायाममा उत्पादित अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउन बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी गरेको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ । बैठकमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञका प्रतिनिधि सहभागी हुनेछन् ।

संयोजक शाहीका अनुसार वर्षायाममा उत्पादन बढ्दा विद्युत् खेर जाने अवस्था रहेकाले आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको हो । यसका लागि ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायामको बिजुली सस्तो बनाउने तयारी छ ।

उद्योगलाई समेत सहुलियत दिने तयारी भइरहेको उहाँले बताउनुभयो । उद्योगले सस्तो बिजुली पाएपछि उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्‍याउन सकिने विषयमा समेत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा आजको बैठकमा छलफल हुने र छिट्टै निर्णय गरिने संयोजक शाहीले बताउनुभयो । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update