- उडान सुरक्षा सुधारलाई उच्च प्राथमिकता ।
- सुधारात्मक कार्ययोजनाको समीक्षा प्रतिवेदनको प्रतीक्षा ।
- नियामकीय र संस्थागत सुधारसँगै कूटनीतिक पहल ।
रे समाचार/काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली सङ्घ (ईयू) को उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढताका साथ अघि बढिरहेको बताउनुभएको छ । उहाँले उडान सुरक्षा सुधार, नियामकीय क्षमता अभिवृद्धि, संस्थागत सुधार र कूटनीतिक पहललाई एकसाथ अघि बढाइएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपालले सुधारात्मक कार्ययोजनाको कार्यान्वयन अघि बढाइसकेको र त्यसको समीक्षा नतिजा प्राप्त भएपछि आवश्यक थप कदम चालिने बताउनुभयो ।
ईयूले सन् २०२३ सेप्टेम्बरमा नेपालमा उडान सुरक्षा मूल्याङ्कन गरेको थियो । त्यसको निष्कर्षअनुसार सुधारका विवरण नेपालले गत जुन ५ मा ईयूसमक्ष पेस गरिसकेको र ईयूले जुन १२ मा सुधारात्मक कार्ययोजनाको समीक्षा उपलब्ध गराउने जानकारी दिएको मन्त्री पौडेलले बताउनुभयो ।
उहाँका अनुसार उडान सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय निकाय र सेवा प्रदायकका रूपमा छुट्टाछुट्टै संस्थागत संरचनामा विभाजन गर्ने सम्बन्धी विधेयक तयार भइसकेको र छिट्टै संसद्मा पेस गरिनेछ ।
नेपाललाई उडान सुरक्षा सूचीबाट हटाउन ईयूका राजदूत तथा सदस्य राष्ट्रका राजदूतसँग समेत निरन्तर संवाद भइरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले कूटनीतिक पहलसँगै अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुसार वास्तविक र मापनयोग्य सुधारमार्फत सूचीबाट हट्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।
