RayNewsDaily
प्रधानमन्त्री शाहसँग भारतीय सेनाध्यक्ष सेठको शिष्टाचार भेट
  • प्रधानमन्त्री शाह र सेनाध्यक्ष सेठबीच भेटवार्ता 
  • नेपाल-भारत सैन्य सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल 
  • सेठ भोलि बुधबार स्वदेश फर्कने 

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा आपसी हित तथा दुई देशबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । उहाँले आज बिहान पशुपतिनाथ मन्दिरमा पूजाआजासमेत गर्नुभएको छ ।

सेनाध्यक्ष सेठ भोलि बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update