RayNewsDaily
विद्युतीय चुल्हो प्रवर्द्धन गर्न सांसदहरूको माग
  • ग्यास आयात रोक्न र वातावरण जोगाउन विद्युतीय चुल्होमा जोड ।
  • मनसुनजन्य विपद्, पहिरो र हात्ती आतङ्कबारे सरकारको ध्यानाकर्षण ।
  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षीद्वारा सदनमा विरोध ।

रे समाचार/काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्न सरकारसँग माग गरेका छन् । आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले वातावरण प्रदूषण नियन्त्रण र ग्यास आयात प्रतिस्थापनका लागि विद्युतीय चुल्हो प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले मनसुनजन्य विपद्का कारण सडक अवरुद्ध भई सर्वसाधारणको जनजीवन कष्टकर बनेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोले सडक अवरुद्ध हुँदा खाद्यान्न र विकास निर्माणका सामग्री ढुवानीमा समस्या परेको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत र पुन:स्थापनाको व्यवस्था गर्न माग गर्नुभयो । त्यस्तै, सांसद प्रेमबहादुर बयकले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुभयो । सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीको आतङ्क नियन्त्रण गरी बस्ती व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

यसैगरी, सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी उज्यालोका लागि सौर ऊर्जामा निर्भर हुनुपरेको विषय उठाउनुभयो । सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपछि विपक्षी सांसदहरूले स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे विरोध जनाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update