RayNewsDaily
मतदाता नामावली शुद्ध बनाउन आयोगको पहल, मृत्यु भएका मतदाताको विवरण हटाउन आग्रह
  • मृत्यु भएका मतदाताको नाम हटाउन आग्रह 
  • मृत्युदर्ता प्रमाणपत्रसहित सूचना दिनुपर्ने 
  • मतदाता नामावली शुद्ध र विश्वसनीय बनाउन जोड 

रे समाचार/काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ । आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा विवरण अद्यावधिक गर्दै आएको जनाएको छ ।

आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न एकाघर परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन सक्ने उल्लेख छ । आयोगले मतदाता नामावली अद्यावधिकलाई निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधारका रूपमा लिएको छ ।

गत फागुन २१ गतेको निर्वाचनपछि चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सञ्चालन हुँदै आएको आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था छ । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले ‘प्रि-इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी फोटो र औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।

आयोगका अनुसार मतदाता नामावलीमा नाम, थर र ठेगाना सच्याउने, एउटै वडाभित्र रहेका मतदानस्थलमध्ये पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसार विवरण सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका कामका लागि पनि अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update