- भारतीय स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा ।
- राष्ट्रपति पौडेलबाट मानार्थ महारथीको दर्जा दिइने ।
- भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा ।
रे समाचार/काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ ।
पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आउनुभएका सेनाध्यक्ष सेठसँग उहाँकी धर्मपत्नी कोमल सेठ पनि सहभागी हुनुहुन्छ । उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
भारतीय उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले नेपाल-भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।
