- चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै ।
- राष्ट्रपति पौडेलबाट भोलि मानार्थ महारथीको दर्ज्यानी ।
- प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता ।
रे समाचार/काठमाडौँ । भारतीय प्रधानसेनापति धीरज सेठ प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नुहुनेछ । भोलि नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
नेपाल र भारतका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ । दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो ।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परालाई दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको प्रतीकका रूपमा लिइन्छ ।
