- कांग्रेस एकढिक्का भए कसैले पराजित गर्न नसक्ने दाबी ।
- देउवाकै नेतृत्वमा कांग्रेस अघि बढ्ने कोइरालाको भनाइ ।
- संस्थापनइतर पक्षको तीनदिने राष्ट्रिय भेला सुरु ।
रे समाचार/काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभएको छ । उहाँको संयोजकत्वमा आजदेखि काठमाडौँमा सुरु भएको कांग्रेस संस्थापनइतर पक्षको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन समारोहमा उहाँले पार्टीलाई एकजुट बनाउनु आफ्नो कर्तव्य भएको बताउनुभयो ।
“कांग्रेस एकढिक्का भएका खण्डमा कसैले पनि पराजित गर्न सक्दैन । यही नै भेलाको मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो ।
डा. कोइरालाले बिहीबार पाँच महिनापछि स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले भेला सफल भएको बताउनुभयो । उहाँले देउवासँग भारतको बनारसमा पहिलोपटक भएको भेट र सँगै सिनेमा हेरेको प्रसङ्गसमेत स्मरण गर्नुभयो ।
निवर्तमान सभापति देउवा नै आफूहरूको नेता भएको उल्लेख गर्दै डा कोइरालाले उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा सुरु भएको भेलामा सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार भेलाको बन्दसत्र शनिबार र आइतबार हुनेछ ।
