RayNewsDaily
जेनजी घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
  • सम्झौता र एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरिने 
  • शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा सहजीकरण 
  • शहीद र घाइते परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दु बन्ने 

रे समाचार/काठमाडौँ । सरकारले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ गठन गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित प्रेस ब्रिफिङमा सहसचिव अर्यालले समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत एकीकृत प्याकेज कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने जानकारी दिनुभयो ।

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच २०८२ मङ्सिर २४ गते भएको सम्झौता तथा मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट स्वीकृत ‘एकीकृत प्याकेज’ कार्यान्वयनको प्रगति समीक्षा गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिले प्याकेज कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबीच आवश्यक समन्वयसमेत गर्नेछ ।

समितिले आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क विन्दुका रूपमा काम गर्नेछ । एकीकृत प्याकेजमा व्यवस्था भएअनुसार प्रभावित परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत विषय कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय र सहजीकरण गर्नेछ ।

सम्झौता तथा प्याकेज कार्यान्वयनका क्रममा देखिन सक्ने व्यावहारिक समस्या र जटिलता समाधानका लागि आवश्यक सुधारका उपाय पहिचान गरी सम्बन्धित निकायलाई सिफारिस गर्ने कार्यादेश पनि समितिलाई दिइएको छ ।

समितिले आवश्यकताअनुसार सरकारी तथा गैरसरकारी प्रतिनिधि र विषयगत विज्ञलाई आमन्त्रण गरी छलफल तथा बैठक गर्न सक्ने व्यवस्था गरिएको छ ।

सहसचिव अर्यालको संयोजकत्वमा गठित समितिमा गृह, अर्थ, शिक्षा तथा खेलकुद, युवा, श्रम तथा रोजगार, पूर्वाधार विकास, स्वास्थ्य तथा खाद्य स्वच्छता तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका एक-एक जना उपसचिव सदस्य रहनुभएको छ ।

त्यस्तै, जेनजी आन्दोलनका शहीद परिवार र घाइते परिवारका तर्फबाट दुई-दुई जना सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव वासुदेव खनाल रहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update