- भट्टलाई प्रदेश प्रमुख नजीर मियाँद्वारा मुख्यमन्त्री नियुक्त ।
- दोस्रो कार्यकालमा सुदूरपश्चिममा चार मुख्यमन्त्री ।
- केन्द्रको सत्ता समीकरणको प्रत्यक्ष प्रभाव ।
रे समाचार/सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजीर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ । सत्ता समीकरणमा परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रदेश स्थापनापछि पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुभएको थियो । दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बनिसकेका छन् ।
दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री राजेन्द्रसिंह रावल बन्नुभएको थियो । उहाँले २०७९ पुस २८ देखि माघ २६ गतेसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले २०७९ माघ २७ देखि २०८१ वैशाख ५ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।
त्यसपछि दीर्घबहादुर सोडारीले २०८१ वैशाख ६ देखि साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । उहाँपछि फेरि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्नुभएको थियो । शाह पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रोपटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बन्नुभयो । सत्ता समीकरण बदलिएपछि उहाँले बिहीबार पदबाट राजीनामा दिनुभएको हो ।
दोस्रो प्रदेशसभा कार्यकाल सुरु भएदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पर्दै आएको छ ।
हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य छन् । नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन यो संख्या पर्याप्त देखिन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्य छन् । एक सदस्यले राजीनामा दिएपछि हाल प्रदेशसभामा ५२ सदस्य छन् ।
