- ग्यास अभाव तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण ।
- कालोबजारी नियन्त्रण गर्न कडा अनुगमन गर्न माग ।
- पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको रिहाइको माग ।
रे समाचार/काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावका कारण नागरिकले खाना खानसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावले नागरिकलाई समस्या भएकाले तत्काल समाधान गर्न आग्रह गर्नुभयो । सदस्य कृष्णप्रसाद अधिकारीले ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै कडा अनुगमन गर्न माग गर्नुभयो ।
सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा उत्पन्न समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली तथा अन्य तीन जनाको निधनप्रति दुःख व्यक्त गर्नुभयो । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या तीन दर्जन आयोग गठन हुँदासमेत समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडासम्बन्धी नीति बनाएर भाडा निर्धारण गर्न माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार गरिएको धरपकडप्रति विरोध जनाउनुभयो ।
