- कालोबजारी गर्नेलाई कडा कारबाही गर्न आग्रह ।
- पेट्रोलियम पदार्थसम्बन्धी ऐन बनाउन निर्देशन ।
- पाम तेलमा मिसावट नियन्त्रण गर्न आग्रह ।
रे समाचार/काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोलपम्प, ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
उहाँले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो । समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको उहाँले बताउनुभयो ।
सभापति अन्सारीले होटल तथा रेष्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
