- निर्वाचन आयोग र नेपाल प्रहरी नेतृत्वबीच आगामी निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल ।
- निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा जोड ।
- कानुन र आयोगको निर्देशनअनुसार निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न प्रहरी प्रतिबद्ध ।
रे समाचार/काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन तथा सुरक्षासम्बन्धी विविध विषयमा छलफल भएको छ ।
कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा भएको भेटवार्तामा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भेटमा महानिरीक्षक कार्कीले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तद्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
महानिरीक्षक कार्कीले विद्यमान कानुन तथा निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचन सुरक्षासम्बन्धी आफ्नो सङ्गठनले निर्वाह गर्नुपर्ने दायित्वप्रति नेपाल प्रहरी सदैव प्रतिबद्ध रहने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त कार्की तथा आयुक्तद्वय वाग्ले र सुब्बाले यही साउन १४ गते पदबहाली गर्नुभएको थियो ।
