- जनैपूर्णिमा मेलालाई व्यवस्थित बनाउन तयारी तीव्र ।
- स्वास्थ्य, सुरक्षा, यातायात र सरसफाइमा विशेष जोड ।
- बिरामी परे सवारीसाधन वा हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिने ।
सरस्वती न्यौपाने/रसुवा । जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला व्यवस्थित, सुरक्षित र सहज बनाउन ११ वटा उपसमिति गठन गरी तयारी सुरु गरिएको छ । आगामी भदौ १२ गते लाग्ने मेलाका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा विभिन्न व्यवस्थापकीय काम अघि बढाइएको हो ।
सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार-प्रसार, यातायात व्यवस्थापन, आर्थिक तथा आन्तरिक व्यवस्थापन, सुरक्षा र दररेट निर्धारणलगायत उपसमिति गठन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । स्थानीय तह, समुदाय, सुरक्षा निकाय र स्वास्थ्य संस्थासँग समन्वय गरी तयारी अघि बढाइएको छ ।
गोसाइँकुण्ड गाउँपालिका-६ का वडाध्यक्ष दावा सिदार तामाङका अनुसार धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको व्यवस्थापन, खाना-नास्ता र खानेपानीको व्यवस्था तथा स्वास्थ्य शिविर सञ्चालनको तयारी भइरहेको छ । लेक लाग्ने समस्या हुनसक्ने भएकाले अक्सिजनसहितको चिकित्सक टोली गोसाइँकुण्डमा तैनाथ गरिने भएको छ ।
हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार स्वास्थ्य उपचार तथा उद्धार, सुरक्षा र प्रचार-प्रसारका लागि जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँग समन्वय गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसम प्रतिकूलताका कारण कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा सम्भव भएसम्म सवारीसाधन र आवश्यक परे हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिने बताउनुभयो ।
समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा र दर्शन गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु पुग्ने गरेका छन् । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली सभ्यताको संगमका रूपमा गोसाइँकुण्डलाई प्रमुख धार्मिक गन्तव्य मानिन्छ ।
मेला नजिकिएसँगै स्थानीय व्यवसायीले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी सुरु गरेका छन् । पैदलमार्गमा करिब २०० वटा थर्कु छाप्रा निर्माणको कामसमेत सुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।
यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रुको सुरक्षा तथा उद्धारका लागि आवश्यक व्यवस्था गरिएको भन्दै निर्धक्क भएर गोसाइँकुण्ड यात्रा गर्न अनुरोध गर्नुभएको छ । रासस
