RayNewsDaily
बुक पोस्ट बन्द भएको हल्ला गलत : सञ्चारमन्त्री तिमिल्सिना

• सञ्चारमन्त्रीद्वारा बुक पोस्ट सेवा बन्द नभएको स्पष्ट ।
• पाँच किलोग्रामसम्म पुस्तक पठाउन सकिने व्यवस्था यथावत् ।
• केही मुलुकमा दुई किलोग्रामभन्दा बढी पुस्तकमा तौल सीमा ।

रे समाचार/काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा बुक पोस्ट सेवा बन्द नगरिएको र पाँच किलोग्रामसम्मका पुस्तक बुक पोस्टमार्फत पठाउन सकिने व्यवस्था यथावत् रहेको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमा बुक पोस्ट सेवा बन्द गरिएको वा पाँच किलोग्रामसम्मका पुस्तक पठाउन नपाइने भन्ने सूचना फैलिएकोप्रति ध्यानाकर्षण जनाउँदै उहाँले यस्तो स्पष्ट पार्नुभएको हो ।

विश्व हुलाक सङ्घ (युपीयू) को प्रावधान तथा नेपालको विद्यमान व्यवस्थाअनुसार पाँच किलोग्रामसम्मका पुस्तक बुक पोस्टमार्फत पठाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

हाल देखिएको समस्या भने केही गन्तव्य मुलुकले आफ्नो राष्ट्रिय कानुनअनुसार दुई किलोग्रामभन्दा बढी तौलका पुस्तकलाई बुक पोस्टका रूपमा स्वीकार नगरी पार्सलका रूपमा मात्र स्वीकार गर्ने व्यवस्थासँग सम्बन्धित रहेको मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै बताउनुभएको छ ।

hulak-(1)-1786184244.pngएआई निर्मित सांकेतिक चित्र । 
त्यस्ता मुलुकमा दुई किलोग्रामभन्दा बढी तौलका पुस्तक पठाउँदा सामग्री फिर्ता हुन सक्ने वा अतिरिक्त शुल्क लाग्न सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ । सम्बन्धित प्रेषक उक्त जोखिम वहन गर्न तयार भए नेपाल हुलाक सेवाबाट त्यस्ता सामग्री अन्तर्राष्ट्रिय प्रणालीमार्फत पठाउन भने कुनै अवरोध नरहेको स्पष्ट पारिएको छ ।

मन्त्री तिमिल्सिनाले समस्या नेपालमा बुक पोस्ट सेवा बन्द गरिएको नभई केही गन्तव्य मुलुकको स्वीकार्यता सम्बन्धी व्यवस्थासँग जोडिएको बताउनुभएको छ ।

पुस्तक, अध्ययन तथा ज्ञानको प्रवाहलाई सहज बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले प्राप्त सुझावलाई सम्बोधन गर्दै आवश्यक परे सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गरिने बताउनुभयो ।

 

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update