• प्रतिनिधिसभामा चार विधेयक एकैदिन प्रस्तुत ।
• राहदानी, खानी र मानव बेचबिखनसम्बन्धी विधेयक अघि बढ्यो ।
• विशेष सेवा ऐनसम्बन्धी समितिको प्रतिवेदन पनि पेस ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा चारवटा विधेयक प्रस्तुत भएका छन् । राहदानी, खानी तथा खनिज पदार्थ, मानव बेचबिखन नियन्त्रण र संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक संसद्मा दर्ता प्रक्रियाअघि बढाइएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।
परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नुभयो ।
सभामुख डोलप्रसाद अर्यालले ती विधेयक प्रस्तुत गर्न अनुमति माग्दा कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएकाले प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउनेसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पनि पेस गर्नुभयो । रासस
प्रतिनिधिसभाको अर्को बैठक साउन २५ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।
